२ दिनभित्र कार्यविधि बनाउने सहकारी दुरुपयोग छानबिन विशेष समितिको निर्णय  

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले २ दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेश गर्ने निर्णय गरेको हो।

कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ। समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको थियो।

बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरुबीच भएको सहमति, कार्यक्षेत्र र अनुसूचिमा समावेश भएका सहकारीको नामावलीसहितको दस्तावेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गरेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग सभापति थापाले तोकिएकै समयमा अनुसूचिभित्रका सहकारीहरुमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिए।

‘बैठकमा समितिको काम अगाडि बढाउने सन्दर्भमा छलफल गरेका छौँ। आज हामीले सामान्य केही निर्णय मात्रै गरेका छौँ जस्तो कार्यविधि बनाउनुपर्ने छ‚’ उनले भने‚ ‘समितिको आन्तरिक कार्यविधि मस्यौदा गर्न सचिवालयलाई निर्देशन दिएका छौँ। त्यसमा कार्ययोजना, ३ महिनाको निर्धारित समयलाई मध्यनजर गरेर समयभित्रै काम सम्पन्न गर्नेगरी समितिले गर्नुपर्ने कामको कार्ययोजना र कार्यविधिको मस्यौदा गर्न जिम्मा दिने काम भएको छ।’

उनले समिति सदस्यहरुले ३ महिनाभित्र अहोरात्र काम गरेर भए पनि काम सक्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिबद्धता पनि त्यही रहेको बताए।