मधेस प्रदेशका मुख्यमन्त्री यादव पाँचौंपटक विश्वासको मत लिँदै  

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार १८ महिनामा  पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।  

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए । 

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेस सभापति कृष्णप्रसाद यादवले बताएका छन् ।