सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गृहमन्त्री लामिछानेको गुणासो    

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका छन्।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले कैयौँपटक सहकारी पीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका हुन्।

उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुखेसो पोखे। उनले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाइँ लड्न भने नछोड्ने दृढता व्यक्त गरे।

गृहमन्त्री रवि लामिछानेले भने, ‘मेरो त भाग्य यस्तै छ। जुन विषयका लागि आफू लडेको हुन्छु, त्यसैको आरोप खेप्नुपर्छ। नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो। जब कि जीवनभर त्यसैको पक्षमा लडिरहेँ। सहकारी पीडितहरूका लागि कैयौं रिपोर्ट बनाइयो, कतिका लागि लडियो। कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो। अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ।  ठिकै छ मेरो भाग्यसँग लड्दै गरौंला तर त्योभन्दा ठूलो त तपाईंको अधिकारका लागि म लड्नु छ। म त्यसमा स्पष्ट छु।’

उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताए।