ओलीको निर्देशनपछि मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा !

कैलाली - सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ । सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगरेपछि मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने विषय अन्योलमा परेको छ ।

एमाले अनिर्णित हुँदा शुक्रबार र शनिबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको छ । यसैबीच सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । ओलीले सुदूरपश्चिममा विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएको सुदूरपश्चिमका एमाले नेताहरूले बताएका छन् ।

गए राति ओलीले रावलसहितका नेताहरूसँग छलफल गर्दै उपनिर्वाचनबाट विजयी भएका एमाले सांसदले शपथ समेत नलिएको भन्दै अहिले विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएको बताइएको छ ।