स्वास्थ्यमन्त्री बस्नेतले पदबहाली गर्दै गरेका निर्णयहरू केके छन् ? 

काठमाडौँ - स्वास्थ्य मन्त्रालयले मुलुकभर स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बिहीबार मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले संक्रामक एवं महामारीको रूपमा रोगहरू फैलन नदिन संघ, प्रदेश र स्थानीय तहसंगको समन्वयमा दातृ निकाय एवं संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यस्तै उनले स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बीमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने निर्णयमा पनि हस्ताक्षर गरेका छन् भने आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरुमा साधन, श्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरुलाई अधिकतम परिचालन गर्ने निर्णय गरेका छन् ।

मन्त्री बस्नेतले संघ प्रदेश र स्थानीय तहमा रहेका अस्पतालको अनुगमन गरि प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समितिसमेत गठन गरेको जानकारी दिए । उनले मन्त्रालयमा धेरै काम गर्नुपर्ने भन्दै सबै कर्मचारीहरुको साथ लिएर अघि बढ्ने बताए ।