'सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको २२औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘निकै ठूलो मेहनत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ । स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको छ ।’

गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठ शैंया निःशुल्क उपलब्ध गराइएको भन्दै प्रधानमन्त्री दाहालले पाठेघरको क्यान्सर र स्तन क्यान्सरविरूद्धको खोप निःशुल्करूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए ।

 ‘सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कूल श्ययाको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘यस्ता कामले स्वास्थ्य क्षेत्रका अधिकार व्यवहारमा कार्यान्वयनका लागि आधारभूत अर्थ राख्दछन् ।’