मासु खाँदा हड्डी अड्किएर २२ वर्षीय युवकको मृत्यु  

काठमाडौँ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार तनहुँ घर भई चितवनको भरतपुर - १९ शारदानगरस्थित काकाको घरमा बस्ने २२ वर्षीय करण सुनारको घाँटीमा हड्डी अड्किँदा मृत्यु भएको हो ।

बिहीबार मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएपछि सुनारलाई स्थानीय सिद्धेश्वर हेल्थ केयरमा लगी औषधि खुवाइएको थियो । तर ठीक नभएपछि उनलाई भरतपुर अस्पताल लगिएकामा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोस्टमार्टमका लागि शव सोही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।