धनगढीबाट काठमाडौँको लागि श्री एयरलाइन्सको उडेको जहाज पोखरामा अवतरण

काठमाडौँ । धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको एउटा जहाज डाइभर्ट भएर पोखरा विमानस्थलमा अवतरण भएको छ ।

धनगढीबाट शुक्रबार बिहान १० बजे काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको नाइन एन एएनएस कलसाइनको जहाजलाई डाइभर्ट गरेर पोखरामा आकस्मिक अवतरण गराइएको हो ।

७६ जना यात्रुसहितको उक्त जहाजको इन्डिकेटरमा समस्या देखिएपछि जहाजलाई डाइभर्ट गरेर पोखरा लगिएको हो । श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले इन्डिकेटरमा समस्या देखिएकाले काठमाडौँका लागि उडेको जहाजलाई डाइभर्ट गरी पोखरा अवतरण गराइएको बताए ।

जहाजको चेकजाँच सकिएपछि पोखराका यात्रु राखेर काठमाडौँ आइसकेको छ । उक्त जहाज धनगढीबाट सवा ९ बजे उड्ने तालिका थियो ।तर १० बजे मात्रै उडेको जहाज पोखरा पुगेको हो । तर प्राविधिक जाँचपछि उड्न तयार जहाजमा धनगढीबाट आएका यात्रुले फेरि चढ्न मानेनन् ।

त्यसपछि पोखराका यात्रु बोकेर जहाज काठमाडौँ अवतरण भइसकेको छ । धनगढीबाट आएका यात्रुलाई भने श्रीले अर्को जहाज पठाएर काठमाडौँ ल्याइसकेको छ।