गृहमन्त्री पत्नी निकिताले कान्तिपुर देखि अनलाइन खबरसम्मलाई हालिन मुद्दा

काठमाडौँ ।  गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले सञ्चारमाध्यमका अध्यक्ष, प्रकाशक र सम्पादकविरुद्ध मुद्दा दर्ता गरेकी छन् । 

काठमाडौँ जिल्ला अदालतका सूचना चन्द्रप्रसाद पन्थीका अनुसार  पौडेलले  गाली बेइजतीको कसुरमा शुक्रबार २९ जनाविरुद्ध मुद्दा दर्ता गराएकी हुन।

पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइनखबर, उकेरा, अर्थ सरकोकार र जनआस्था मिडियाका अध्यक्ष, प्रकाशक र सम्पादकलाई विपक्षी बनाएकी पन्थीले बताए।

पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ र २ बमोजिमको मागदावी लिएर मुद्दा दायर गरेकी हुन्। उक्त दफामा बेइज्जती गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना तथा मनासिव क्षतिपूर्ति र मुद्दा गर्दाको खर्च समेत भराउनुपर्ने कानुनी व्यवस्था छ।

उनले आफ्नो नाम जोडेर सहकारीका विषयमा समाचार लेखेको आरोप लगाउँदै दायर मुद्दामा हरेक प्रतिवादीलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तथा जनही ५ करोड क्षतिपूर्तिको माग गरेकी छिन्।

साई स्वागत सहकारी संस्थाको रकम हिनामिना प्रकरणको समाचारमा पौडेलको नाम उल्लेख थियो। पौडेल उक्त सहकारीकी निवर्तमान उपाध्यक्ष हुन्। उनले जमानीमा रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख ऋण दिलाइकी थिइन्। उक्त रकम फिर्ता नभएपछि वचतकर्ताको रकम हिनामिना भएको छ।