नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सवारीसाधन चल्ने

 चितवन - नारायणगढ–मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्डमा आज देखी नियमित सवारी साधन आवतजावत हुने भएको हो ।

मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आइतबार देखी नियमित रूपमा सडक सञ्चालन गरिन लागेको हो ।

उनका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिए । ‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवातजावतमा अब समस्या छैन निर्बाध रूपमा चल्न सक्नेछन्’ उनले  भने । गत पुस ५ गतेदेखि  बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको थियो ।