सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै,  माओवादीलाई फकाउने प्रयास

 धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतबार विश्वासको मत लिँदैछन् । दिउँसो बस्ने प्रदेशसभाको बैठकमा शाहले आफूलाई विश्वासको मत माग्ने कार्यतालिका रहेको छ ।

कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा यसअघि आज नै नागरिक उन्मुक्ति पार्टीले पनि वर्तमान सरकारलाई लिखित सहमतिविना समर्थन गर्न नसक्ने बताइसकेको छ ।


सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिए कि एमालेको साथ लिनुपर्ने कि राजीनामा दिनुपर्ने दुई विकल्प मुख्यमन्त्री कमलबहादुर शाहलाई आईपर्ने देखिएको छ ।


नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

शनिबार बसेको माओवादी संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको भएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।