राष्ट्रपति निर्वाचनपछि कांग्रेस–एमालेको सरकार बन्न सक्ने भारतीय पूर्वराजदूतको दाबी

काठमाडौं - नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले राष्ट्रपति चुनावपछि नेपालमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्न सक्ने सम्भावना औंल्याएका छन्।

भारतीय अखबार डेक्कन हेराल्डमा आफ्नो विचार एक लेखमार्फत् सार्वजनिक गर्दै पूर्व राजदूत रेले सन् २०१३ मा जस्तै कांग्रेस र एमाले गठबन्धन सरकार बन्ने सम्भावना भएको बताएका हुन् ।

उनले एमाले र माओवादी गठबन्धन असफल भएर अहिले कांग्रेस र माओवादी गठबन्धन बनेको भन्दै तेस्रो विकल्पको रूपमा कांग्रेस–एमालेबीचको गठबन्धनको सम्भावना रहेको औंल्याएका हुन्। ‘नेपालमा २०७० को दोस्रो संविधानसभा चुनावपछि जस्तै दुई ठूला दलहरू कांग्रेस र एमाले एकै ठाउँमा आउने सम्भावना रहेको छ’ उनले लेखमा भनेका छन्।

नेपालको राजनीतिक अस्थिरता भए पनि भारत नेपालसँग जोडिनुपर्छ भन्ने आशयको आलेखमा रेले यस्तो बताएका हुन् । पूर्वराजदूत रे भारतीय कांग्रेस आईसँग निकट प्रशासक हुन्। तर, पछिल्लो समय उनले कांग्रेस आईसँगको सम्बन्ध त्यागेको अनुमान गरिएको छ।