मुगुमा आगलागीमा परेर दाजुबहिनीको मृत्यु, तीन घर जलेर नष्ट

काठमाडौँ । मुगुमा आगलागीमा परेर दाजुबहिनीको मृत्यु भएको छ । खत्याड गाउँपालिका–२ गाडेखोलामा  टोलमा सञ्ज्याल तीन दाजुभाइको घरमा गएराति १ बजेतिर आगलागी भएको थियो ।

सोही आगोलागीमा परि लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्यालको आगोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

आगलागीबाट तीन दाजुभाइ लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रुपमा जलेको छ । उनीहरूका घर एकआपसमा जोडिएका थिए । उनले भने, ‘दुई वटै बालक घर भित्रै आगोमा जलेर लिंग पहिचान गर्न नसकिने डल्लो अवस्थामा भेटिएको छ ।

उनीहरूको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् । खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको थियो । तीन वटै घरमा रहेको धनसम्पत्ति, पशु वस्तु, खाद्यान्न पूर्ण रूपमा क्षति भएको छ ।

घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।