जापानमा शक्तिशाली भूकम्प : मृतकको संख्या ९२ पुग्यो, २४२ जना बेपत्ता

काठमाण्डौँ - जापानको इशिकावामा ७.६ म्याग्निच्युडको  भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्यांक भने बढ्दै गएको देखिन्छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको जापानी समाचार संस्था, क्योदोले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

भूकम्पपछि सबैभन्दा प्रभावित तटीय सहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिस भग्नावशेषमा फसेका छन् । जापानको सेल्फ डिफेन्स फोर्सका अनुसार, प्रहरी र दमकल विभागका चार हजार ६०० कर्मचारी मिलेर बेपत्ताको खोजी तथा सुरक्षाको पुष्टि गर्ने प्रयासहरू गरिरहेका छन् ।

क्योदोका अनुसार जापानको भू–स्थानिक सूचना प्राधिकरणलाई उद्धृत गर्दै वाजिमा सहरको केन्द्रमा भुइँचालोका क्रममा आगलागी भएपछि करिब ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ ।