रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन उपाध्यक्ष रिता घर्ती,निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव,योजना अधिकृत कृष्णबहादुर घर्ती,तत्कालीन इन्जिनियर नविन डाँगी,सव इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा  आज भ्रष्टाचार मु्द्दा दायर भएको हो ।

गंगादेवको घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङको खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले मु्द्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । यसैगरी सोही प्रकरणमा उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी,सचिव खड्कबहादुर डाँगी र कोषाध्यक्ष चन्द्र कुमारी डाँगीको संलग्नता देखिएको अख्तियारको ठहर छ ।

गंगादेव गाउँपालिकाका वडा २ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई र वडा सदस्य टिका विक,गनबहादुर भण्डारी,वडा सचिव कुलबहादुर योगीको पनि भ्रष्टाचारजन्य कार्यमा  संलग्नता रहेको पुष्टि हुन आएको अख्तियारको दावी छ । गंगादेव गाउँपालिका २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको  उनीहरूविरुद्ध उजुरी परेको  थियो ।