एसइईका विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्दै केपी ओली    

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताएका छन्।

बिहीवार रूपन्देहीमा २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले उक्त घोषणा गरेका हुन्।

उनले एसइई परीक्षा राम्रोसँग उत्तीर्ण गराउन अंग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षा अनलाइनमार्फत उपलब्ध गराइने बताए।

उनले काठमाडौँबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत शिक्षा दिने बताए। उनले अनलाइन कक्षाको व्यवस्था देशभर गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह गरे। उनले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने बताए।

ओलीले भने, ‘५३ प्रतिशत किन फेल भयो भन्दा अप्सनै छैन। शिक्षकहरूले नै तालिम पाएका छैनन्, शिक्षक नै गुणस्तरका छैनन्। विद्यार्थी कमसल भएर होइन। म एसइई पास गरेका सम्पूर्ण विद्यार्थीलाई बधाई र शुभकामना भन्न चाहन्छु। मौका परीक्षा दिने विद्यार्थीलाई उत्तीर्ण गराउन अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सोसियोलोजीका क्लास अनलाइनमार्फत सबै विद्यार्थीलाई निःशुल्क उपलब्ध गराइनेछ। त्यसका लागि केपी शर्मा ओली फेसबुक पेजमा कन्ट्याक्ट गर्नुहोला। अनलाइन क्लासमा जोडिएर अनलाइन क्लासको लाभ लिन सक्नुहुनेछ।’

अध्यक्ष ओलीले शिक्षकहरूलाई आवश्यक तालिम दिन नसक्दा गुणस्तरीय शिक्षक पाउन कठिन रहेको भन्दै ज्ञान हस्तान्तरण गर्नसक्ने क्षमता भएका शिक्षकको आवश्यकता रहेको बताए।