एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत,  झलनाथ सम्मानित नेता  

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत चयन गरेको छ।

पार्टी अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका हुन्।

बिहीवार बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गर्ने सहमति गरेको थियो।

उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए। महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो।

गत असार १६ गतेदेखि काठमाडौँको कमलादीमा एकीकृत समाजवादीको १० औँ महाधिवेशन चलेको थियो। झलनाथ खनाल सम्मानित नेता चयन भएका छन्।

यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो। अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ।