नक्कली भुटानी शरणार्थी प्रकरणमा १० दिनपछि मात्रै आदेश आउने

काठमाडौँ - जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे ३१ जेठमा आदेश गर्ने भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका हुन् ।
शुरुमा सरकारी वकिललाई २ दिन बहसका लागि समय दिने छलफल भएको थियो । टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले आफूहरुलाई पुरै एक दिन आवश्यक पर्ने भन्दै समय मागे । त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।