नवौंपटक सरकार विस्तार : तीन मन्त्री थपिए, आज शपथ हुने 

 काठमाडौँ - नेपाली कांग्रेसका तीन सांसद मन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार कांग्रेस सांसद धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरूको पद तथा गोपनीयताको शपथ बिहीबार हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लोपटक ३ वैशाखमा आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसबखत कांग्रेस सांसद एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरिएको थियो ।

यस्तै, त्यसअघि १७ चैतमा कांग्रेसका तर्फबाट चार सांसद सातौंपटकको विस्तारमा मन्त्री नियुक्त भएका थिए । त्यसबखत पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा। प्रकाशशरण महत अर्थ, सीता गुरुङ शहरी विकास र रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए ।

त्यसअघि १६ फागुन, १४ फागुन, २३ माघ, १४ माघ र ३ माघमासमेत मन्त्रिपरिषद् विस्तार भएको थियो भने प्रधानमन्त्री प्रचण्डले ११ पुसमा प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए ।