२३ औं बुढासुब्बा फुटबल कपको उपाधि क्यामरुनलाई

धरान - २३ औं बुढासुब्बा फुटबल कपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ। धरान रङ्गशालामा शनिबार भएको फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० गोलले हराउँदै एभिनियर फुटबल क्लब क्यामरुन च्याम्पियन बनेको हो। 

पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। खेलको ६५ मिनेटमा एभिनियर फुटबल क्लब क्यामरुनको तर्फबाट साबाले १ गोल गरे। उनको गोल नै निर्णायक बनेको हो। थुप्रै अवसर पाए पनि काँकडभिट्टाले गोल गर्न नसक्दा उपाधि गुमाएको हो। 

उपाधिसँगै एभिनियर फुटबल क्लब क्यामरुनले १० लाख रुपियाँ पुरस्कार मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ। उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पाँच लाख रुपियाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

उपाधि विजेता खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष पकंजविक्रम नेम्वाङले ट्रफी र पुरस्कार प्रदान गर्नुभयो। उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका खेलाडीलाई उपमहानगरपालिकाको प्रमुख हर्कराज राईले पुरस्कार प्रदान गरे।

खेलको बेस्ट प्लेयर टुर्नामेन्ट काँकडभिट्टा फुटबल क्लबका मिलन राईले प्राप्त गरे। उनले नगद १ लाख प्राप्त गरेका छन् । बेस्ट कोच एभिनियर फुटबल क्लब क्यामरुनको आशिष् थापा मगरले पाएका छन् । उनले नगद २५ हजार पाए  ।