'प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ' :  माधव नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । 

शनिबार आयोजित एकीकृत समाजवादी निकट दलित मुक्ति संगठनको कार्यक्रममा सम्बोधन गर्दै उनले अरु पार्टी सरकारबाट हटेकाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको बताए । 

अध्यक्ष नेपालले आफूहरु देशभरका कम्युनिस्टलाई मिलाउनका लागि आफ्नै मान्यतामा दृढताका साथ उभिने तर्क गरे । आफूहरु कुनै पार्टीमा गएर समाहित नहुने भन्दै उहाँले राजनीतिमा आफ्नो पार्टीको बेग्लै पहिचान र भूमिका रहेको तर्क गरे । 

गत पुस १० गते नयाँ सत्ता गठबन्धन बनाउँदाको सहमति तोडेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेससहितको गठबन्धन बनाएका थिए । त्यसपछि नेकपा एमाले र राप्रपाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएका थिए । समर्थन फिर्तापछिको एक महिनाभित्रमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।