पालिका र जिससलाई चालु आर्थिक वर्षको खर्चमा २० प्रतिशतसम्म कटौती गर्न परिपत्र

काठमाण्डौँ - सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले सबै जिल्ला समन्वय समिति र पालिकालाई चालु आर्थिक वर्षको खर्चमा २० प्रतिशतसम्म कटौती गर्न परिपत्र गरेको छ । अर्थ मन्त्रालयले  सङ्घीय  सरकारको चालु खर्चमा खर्च कटौती गर्ने निर्णय गरेअनुसार पालिका र जिससलाई पनि खर्च कटौती गर्न परिपत्र गरिएको हो  ।

सङ्घीय मामिला मन्त्रालयले खर्च कटौती गर्न मिल्नेसम्मका शीर्षकमा खर्च कटौती  गर्न  भनेको छ । विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलामा परेको प्रभाव र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व सङ्कलन नभएकाले बजेट कटौती तथा खर्च रोक्का गर्न भनिएको छ ।

सबै पालिका र जिससले विनियोजित बजेटको खर्च भइ बाँकी रहेको दायित्व सिर्जना भइसकेका बाहेक बजेट तत्काल लागू गरी २० प्रतिशत कटौती गर्न आग्रह गरिएको छ । सङ्घीय सरकारले कर्मचारीको तालिम खर्च,  सिप  विकास  तथा  जनचेतना,  गोष्ठी,  कार्यक्रम खर्च, अनुगमन तथा मूल्याङ्कन खर्च, मेसिनरी  तथा  औजार  कटौती  गर्ने  निर्णय  गरिसकेको छ ।

त्यस्तै गाडी मर्मत खर्च, नियमित सार्वजनिक सम्पत्तिको मर्मत खर्च, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन, सेवा परामर्श खर्च र अन्य कार्यालय सञ्चालन खर्चलगायतका शीर्षकको खर्च कटौती गर्ने निर्णय पनि भएको छ ।