हुम्लामा फेरि हिमपात, हिउँदे बाली फस्टाउनेमा किसानहरु दंग

काठमाडौँ । हिमाली जिल्ला हुम्लामा फेरि हिमपात भएको छ। अघिल्लो हिमपात भएको चार दिनपछि फेरि आइतबार पनि हिमपात भइरहेको छ ।

दोस्रो पटक हुम्लामा सुरु भएको हिमपात जमिनमा दुई ईन्चभन्दा बढी हिउँ जमेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए ।

गत पुस महिनाभर हिमपात नहुँदा किसानहरू निकै चिन्तित भएका थिए । किसान बलजिते कामीले यो हिमपात किसानका लागि निक्कै उपयोगी हुने बताउँदै केही दिन राम्रैसँग हिमपात भए राम्रो हुने बताए।

जौं, गहुँ र उवा उम्रने आशामा किसान देखिएका छन्। फलफुलका बिरुवा लगाउने समय भएको कारण त्यसका लागि पनि हिमपातले सहज बनाएको छ।

हिमपात भएपछि चिसो भने बढेको छ। सदरमुकाम सिमकोटभन्दा दक्षिणतर्फ भने पहिलो हिमपात हो। उत्तर नाम्खा गाउँपालिकाका लिमी, न्यालु, हिल्सा, यारी, चाला लगायतका बस्तीमा भने डेढ फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी, हिल्साले जनाएको छ।