राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाद्धारा संघीय लोकतान्त्रिक गणतन्त्रलाई भ्रष्ट व्यवस्थाको संज्ञा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भ्रष्ट व्यवस्थाको रुपमा टिप्पणी गरेका छन् ।

आइतवार काठमाडौँमा पार्टीको सक्रिय सदस्यता वितरण अभियानको आरम्भ गर्दै अध्यक्ष थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको बताए । 

देशमा कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि संघीय संरचना खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर छ।

उनले केही वर्षभित्रै राप्रपा नेपाललाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित हुनेगरी काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। 

त्यसका लागि एक वर्षभित्र कम्तिमा २ लाख पार्टीको सक्रिय सदस्यता वितरण गरिसक्नुपर्ने अध्यक्ष थापाको भनाई थियो। 

उनले पार्टीलाई बलियो बनाउन पनि सक्रिय सदस्यता वितरणलाई पार्टीका नेता, कार्यकर्ताले प्रतिस्पर्धाको रुपमा अघि बढाउनुपर्ने बताए।