परिवर्तनका लागि क्रान्ति आवश्यकता भएको सभापति लामिछानेको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले परिवर्तनका लागि क्रान्ति आवश्यकता भएको दाबी गरेका छन् ।  आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’को मेलम्चीबाट शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले हिजोको रातो क्रान्तिमा रगत बगेकाले अब हामीले गर्ने नीलो क्रान्तिमा पसिना बगाउनुपर्ने बताए । जनतालाई अगाडि लगाएर आफू पछाडि बस्ने दिन गएको भन्दै लामिछानेले जनतालाई दुख दिएर नभई नेताले दुःख गरेर परिवर्तन गर्नुपर्ने धारणा  व्यक्त गरे ।

उनले भने, ‘इतिहासमा रातो क्रान्ति भए। राता क्रान्तिप्रति हामीले अवमूल्य गरेका छैनौं, गर्दैनौं।’लामिछानेले भने,‘हिजोको रातो क्रान्तिमा रगत बग्यो, अब हामीले गर्ने नीलो क्रान्तिमा हामी पसिना बगाउन चाहन्छौं। पसिनाले यो माटोलाई सिञ्चने बेला आएको छ। यो पनि होइन कहिले पनि ठूला ठूला क्रान्तिको आवश्यकता पर्दैन। तर अहिले बेला आएको छैन।’

उनले २१ वटा योजनामा दबाब यात्रा सुरु गरेको उल्लेख गरे। उनले समस्याको ज्ञापन पत्र नभई समाधानसहितको ज्ञापन पत्र बुझाएर जनतालाई जानकारी दिने बताए ।