इजरायलद्वारा दक्षिणी गाजामा भीषण आक्रमण, १ सय ९३ जनाको मृत्यु

काठमाडौँ - अस्थायी युद्धविराम सकिएपछि युद्धमा फर्किएको इजरायलले दक्षिणी गाजाको खान युनिसमा भारी बमबारी गरेको छ । खान युनिसको बमबारी युद्ध शुरु भएयताकै भारी बमबारी भएको स्थानीयले बताएका छन् ।

गाजाका पूर्वी शहरहरुमा रहेका सर्वसाधारणलाई इजरायली सेनाले सो क्षेत्र खाली गर्न निर्देशन दिएका छन् । पूर्वी गाजाका नागरिकहरुलाई दक्षिणतर्फ जान भनिएको छ। गाजाका पूर्वी शहरहरुमा हमासका नेताहरु लुकेर बसेको आशंका इजरायलको छ । सो क्षेत्रमा दक्षिणी गाजा छोडेर आएका कयौं सर्वसाधारण बसोबास गरिरहेका छन् । 

गाजामा हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको पछिल्लो आक्रमणमा परी १ सय ९३ जनाको मृत्यु भएको छ । 
एक साता लामो अस्थायी युद्धविराम सकिए लगत्तै शुक्रबारबाट इजरायलले पुनः जवाफी कारवाही शुरु गरेको छ । गत अक्टोबर ७ हमासले इजरायलमा गरेको आक्रमणमा १ हजार २ सय जनाको मृत्यु भएको छ भने २ सय ४० जनालाई बन्धक बनाइएको छ ।