सहकारीसम्बन्धी संसदीय छानबिन समितिको म्याद १५ दिन थपियो 

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त  प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेपछि समितिको म्याद १५ दिन थप भएको हो । उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको पनि जानकारी दिए ।

१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिँदै थियो ।