कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने

 काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ भएको छ । अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ। पूर्ण इजलासमा भोलिदेखि निरन्तर सुनुवाइ हुने भएको हो।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको एमाले कोशी प्रदेश संसदीय दलका मुख्य सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ ।