बोल्दा जिभ्रो थुतिदिन्छु भन्ने कहाँको लोकतन्त्र हो : सांसद मनीष झा   

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्ति अलोकतान्त्रिक रहेको टिप्पणी गरेका छन्।

आफ्नो संगठनका केही चुनौतीबारे भनाइ राख्दा जिब्रो थुतिदिने अभिव्यक्ति सरकारका प्रवक्ताले नै दिएको भन्दै त्यसप्रति उनले संसद्‌मा प्रश्न उठाएका हुन्।

‘हामी लोकतान्त्रिक देश हौं भनेर भन्छौं, लोकतन्त्रको आधारभूत सिद्धान्त भनेको अभिव्यक्ति स्वतन्त्रता हो‚’ उनले भने, ‘एउटा प्रहरी संगठनको प्रमुखले केही बोल्नुभयो, आफ्नो सांगठनिक केही चुनौती अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता र मन्त्रीले त्यसलाई जिब्रो थुतीदिन्छु भन्छ भने कहाँको वाक् स्वतन्त्रता र कहाँको लोकतन्त्र हो ?’

सांसद झाले आफूहरुलाई सभ्यता सिकाउने मन्त्रीको पार्टीका नेतालाई पहिला आफ्नै मन्त्रीलाई सभ्यता सिकाउन समेत चुनौती दिए। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै उनले भने, ‘हामीलाई आएर त्यही दलसँग सम्बन्धित पाको अग्रजहरूले सभ्यता सिकाउनुहुन्छ भन्ने अनुरोध छ, आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई पहिले सिकाउनुहोस्।’