काठमाडौँ महानगरले पुनः कोभिडविरुद्धको खोप सञ्चालन गर्दै

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।

उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो । कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते दुई दिन कार्यक्रम चलाइनेछ ।

यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते खोप चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाल पौडेलले जानकारी दिए ।
खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने प्रमुख पौडेलले बताए । उनले भने, ‘बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आकलन गरेर नागरिकको बचावटको लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’

पौडेलले अहिले कोभिडको सङ्क्रमणका बारेमा मानिसले खासै कुरा गरेका छैनन् । अस्पतालमा कोभिडकै कारण निमोनिया भएका बिरामी आउने गरेका छन् । उनीहरुको उपचार आइसियुमा राखेर भइरहेको पनि बताए ।