सुयोग बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

काठमाडौँ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीनजना पक्राउ परेका छन्।

सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेका सुयोगका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई प्रहरीले पक्राउ गरेको हो। 

सहकारीमा कुल निक्षेप ४५ करोड रहेको पाइएको छ। तीन जनाविरुद्ध गत चैतमा ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनीहरू फरार रहेका थिए।​ उनीहरूविरुद्ध महानगरीय प्रहरी परिसर जावलाखेलमा ठगी उजुरी दर्तापछि अरू बचतकर्ताले पनि किटानी जाहेरी दिएका थिए।

प्रहरीले उनीहरूलाई ३ जनालाई बारा, ललितपुर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ। सुयोग बहुउद्देश्यीय सहकारीको शाखा रहेको चापागाउँ टाहाखेल कार्यालयबाट पनि बचतकर्ताको रकम हिनामिना भएको छ। 

खाइनखाई दिनदिनै राखेको बचत रकम आफूले नपाउँदा साह्रै मानसिक तनाव सिर्जना भएको चापागाउँका बचतकर्ता सानकाजी महर्जनले दुखेसो पोखेका छन्। ​मानभवनको मात्र नभएर चापागाउँ शाखाका ब्रान्च म्यानेजरसमेत रकमका विषयमा बचतकर्तासँग तर्केर हिँड्ने गरेको बचतकर्ता लक्ष्मी केसीले बताइन्। 

अध्यक्ष महर्जन बैंकिङ कसुर मुद्दामा समेत फरार रहेका प्रतिवादी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।