'गिरिजाप्रसादलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउनु गल्ती भयो' : प्रधानमन्त्री दाहाल

 काठमाडौँ - प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप भएको बताएका छन् । 

प्रधानमन्त्री दाहालले गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको बताउँदै गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको बताएका हुन् । गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्तावलाई अघि बढाउने उनको भनाइ छ ।

गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा सोमबार चावहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘मैले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रस्ताव गर्नुपर्थ्यो । तर मैले सकिनँ। मैले प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुले पटक पटक राजीनामा नदिनुस् भनिराख्नुभयो ।’

‘अस्पतालमा उहाँ मृत्युसँग जुधिराख्नुभएको थियो । मलाई बोलाएर समाल्नु देश भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति आस्था, विश्वास भइराख्यो,’ उनले भने, ‘उहाँको निधन भइसक्यो । शान्ति र संविधानको रक्षा गर्ने कुरामा मेरो जिम्मेवारी र दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिजा नै हो ।’