आजको मौसम : आज पनि अत्याधिक गर्मी हुने, पानी पर्ने सम्भावना न्यून 

काठमाडौँ - हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी भूभागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।