'नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत गरेको छ' : राष्ट्रपति पौडेल 

काठमाण्डौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस मे ३, २०२४ को अवसरमा शुभकामना दिँदै उनले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् ।

‘निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्‌ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदितै छ । स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो ।’ शुभकामना सन्देशमा भनिएको छ,‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो। त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको छ ।’

राष्ट्रपति पौडेलले राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न प्रेसजगतलाई सफलता प्राप्त होस् भन्ने कामना गरेका छन् । पौडेलले प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुने तर्क गरेका छन् ।