आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

 काठमाडौँ - प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना सहित र सम्मान गर्दै मनाइन्छ ।

ससंयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो। सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक बर्ष यो दिवस पत्रकारहरुले उत्सवको रुपमा मनाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।