टोपबहादुर रायमाझीसहितको रिट आज सुनुवाई नहुने  

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट आज पनि सुनुवाई नहुने भएको छ ।

रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर रिटमा आज पेशी परेको थियो । न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएपनि निवेदकको कानून व्यवसायीबाट नै स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई सो अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।

सोही प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भने उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।