ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका गोरखाका युवकको शव भेटियो  

काठमाडौँ । गत चैत १७ गते ट्याक्सी दुर्घटनामा परेर बेपत्ता भएका गोरखा- ७ पौवाखेतका १८ वर्षीय विवश रोकाको शव त्रिशूली नदीमा भेटिएको छ ।

बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा चितवनको इच्छाकामना गाउँपालिका वडा नं.५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा विवश बेपत्ता भएका थिए ।

दुर्घटनामा परेर बेपत्ता भएको ५ दिन पछि सशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा आज बिहान शव फेला पारेको हो । शव फेला परेपछि आफन्तहरुलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ ।

आफन्त तथा जनप्रतिनिधीहरुको रोहवरमा लास जाँच मुचुल्का गरेर प्रारम्भिक अनुसन्धान पुरा गरी शव परीक्षणका लागि गोरखा पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

चैत १६ गते क्यान्सर रोगबाट मृत्यु भएका बुवा शंकर रोकाको अन्तिम संस्कार गरेर गोरखा फर्कने सो ट्याक्सी दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि गोरखा नगरपालिका–७ का ९ वर्षीय बालक आगमन नगरकोटी, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका, ४१ वर्षीया हरिमाया रोका र ३२ वर्षीय अर्जुन सिर्मलको मृत्यु भएको थियो । उनीहरु एकै परिवारका हुन् ।