मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

 काठमाडौँ - सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अङ्गलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिएका छन् ।

उनले भने, ‘गत मङ्गलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क मृत्यु  भएकी १७ वर्षीय युवतीबाट केन्द्र र भारतीय चिकित्सकको टोलीले तीन जनामा मृगौला र कलेजोको सफल प्रत्यारोपण गर्न सफल भएको छ ।’ दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकी ती युवतीबाट रुपन्देही मायादेवी गाउँपालिका–४ पविका ४७ वर्षीय पुरुष र सिराहा जिल्ला सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । साथै ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको थियो ।