दलितको भोज खाएको भन्दै महोत्तरीमा एक परिवार सामाजिक बहिष्कारमा !

जनकपुरधाम - दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको हो ।

महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएका थिए । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा (६ दिनमा हुने छठिहार)मा शुभनारायणले साधुसन्तको भोज (भण्डारा) गरेका थिए । सोही भोजमा महतो पनि सरिक भएका थिए । त्यसपछि उनी महतो (कोइरी) समुदायको बहिष्करणमा परेका हुन् । ‘उनीहरुले मलाई जातबाट निकालिदिएको र भातपानी बारेको भनेका छन्’ महतोले सुनाए, ‘सार्वजनिक रुपमा माफी नमागेसम्म जातमा समावेश नगर्ने अडान उनीहरुले लिएका छन् ।’