चिया निर्यात ३० प्रतिशतले बढ्यो

काठमाडौँ - नेपाली चियाको निर्यात करीब ३० प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीना साउन–माघ मा चिया निर्यात अघिल्लो आर्थिक वर्ष आवको सोही अवधिको तुलनामा २९ दशमलव ९ प्रतिशतले बढेको हो ।

गत आवको ७ महीनामा नेपालबाट २ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको ७ हजार ८४६ मेट्रिक टन चिया निर्यात भएको थियो । चालू आवको सोही अवधिमा निकासी रकम २९ दशमलव ९ प्रतिशतले बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । निकासी परिमाण १२ हजार ५६४ मेट्रिक टन पुगेको छ । केन्द्रको तथ्यांकअनुसार उक्त अवधिमा कृषिजन्य वस्तुको निर्यातमा अलैंचीपछि चिया छ । नेपाली चिया भारत, अमेरिका, जर्मनी, बेलायतसहित विश्वका १ सय ६६ देशमा निर्यात हुन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आव २०७७र७८ मा नेपालबाट ३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । बोर्डका सूचना अधिकारी दीपक खनालले गतवर्ष मौज्दात रहेको चिया यो वर्ष एकैचोटि निर्यात भएकाले निकासी परिमाण ह्वात्तै बढेको देखिएको बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।