स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु 

काठमाण्डौँ - त्रिभुवन विश्वविद्यालय त्रिविले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आज देखि सुरु हुँदै छ । 

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ । यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा। शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ । आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ । 

विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले फागुन १९ गते अपराह्न ३ बजेभित्रमा दर्ता गर्नुपर्नेछ । फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ । 

उक्त नामावलीउपर फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर सोही दिनको साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने निर्देशनालयका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।