सार्वजनिक खरिद ऐन संशोधन गरिने

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलगायतका सरोकारवालासँग छलफल गरेर सार्वजनिक खरिद ऐन संशोधन गरिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा उनले सो कुरा बताए । 

प्रधानमन्त्री प्रचण्डलाई महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगको पछिल्लो समस्या र समाधानको उपायबारे अवगत गराएको थियो । 

महासङ्घ अध्यक्ष सिंहले निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीसँग आग्रह गर्दै सरकारसँग सहकार्यका लागि महासङ्घ सधैँ तयार रहेको प्रतिबद्धता जनाए ।  

बजेट नै सुनिश्चित नगरी आयोजनाहरू घोषणा गरिएका कारण व्यवसायीको ठूलो रकम भुक्तानी हुन नपाउँदा निर्माण उद्योग असहज अवस्थामा रहेको अध्यक्ष सिंहले बताए । बिनाबजेटका नयाँ योजना घोषणा गर्नुभन्दा चालू अवस्थामा रहेका आयोजना सम्पन्न गर्ने कामलाई राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष सिंहको भनाइ थियो ।