सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा केही पनि काम नगरेको ओलीको आरोप 

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा केही पनि काम नगरेको आरोप लगाएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तामा अडिनेबाहेक अरु कुनै राजनीति नगरेको जिकिर गरे।

उनले देशका निम्ति केही गर्ने भन्दा पनि सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीतिक चलखेल गरिरहेको बताए ।

ओलीले सरकारले जाजरकोटलगायतका क्षेत्रमा भूकम्प पीडितको पक्षमा अझै पनि आवास निर्माणको काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे। ‘देशको अवस्था नाजुक छ । जनताको अवस्था नाजुक छ । युवा विदेश पलायन भईराखेका उनीहरुलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ,’ उनले भने ।