राजनीतिक दलभित्र गुटबन्दी, नेताको चाकरी गर्ने प्रवृत्ति देखि सचेत बनौँ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले  राजनीतिक दलभित्र गुटबन्दी, नेताको चाकरी गर्ने प्रवृत्ति देखि सचेत बन्नुपर्ने बताएका छन् ।

रास्वपा व्यास नगर समितिको आज दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले प्राथमिकता नदिने  बताए ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रहेका वाग्लेले भ्रष्टाचार, विकृति र कुशासन भित्र्याउन खोज्ने तत्वविरुद्ध सचेत हुँदै त्यस्ता तत्वलाई हटाउन निर्मम बनिने उल्लेख गरे। पार्टीमा देशैभर सर्वसाधारण जनताको आकर्षण बढेको बताउँदै आगामी चुनावमा रास्वपाको लहर आउने वाग्लेले दाबी गरे।

डा वाग्लेले राजनीतिलाई सङ्ल्याउने अभियानलाई अगाडि बढाउँदै सामाजिक न्यायसहितको उद्धार अर्थतन्त्रको नीति लिइएको बताए। कांग्रेसलाई कम्युनिष्ट बन्न गाह्रो र कम्युनिष्टलाई कांग्रेस बन्न गाह्रो हुने भन्दै वाग्लेले रास्वपामा भने सबै अट्ने दाबी गरे।

उनले भने, ‘सबै नेपाली अटाउन सक्ने पार्टी भनेको रास्वपा हो। नेपाली माटो सुहाउँदो पार्टीको छ।’ पार्टीमा नेतृत्व गर्न आउनेलाई केन्द्रबाट हस्तक्षेप नगर्ने भन्दै उनले तल्लो तहबाटै नेतृत्व छनोट गरिने बताए। रास्वपा राजावादी पार्टी नभएको बताउँदै राजा चाहिन्छ भन्नेहरू पार्टीमा रहन नसक्ने वाग्लेको भनाइ थियो।

सङ्घीयताप्रति पार्टीको स्पष्ट धारणा रहेको बताउँदै नेपाललाई भार पार्ने खालको संरचना आवश्यक नरहेको वाग्लेले बताए। आफूहरू सङ्घीयताको विरोधी नभएको उनको भनाइ थियो।