माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु

काठमाडौँ - सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको उद्घाटन गरेका हुन् । यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ ।

गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार आजबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष दाहालले माओवादी इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने दाबी गरे । अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने अध्यक्ष दाहालको विश्वास छ ।