रोल्पाको तालाबाङमा जीप दुर्घटना : सात जनाको मृत्यु, चार गम्भीर घाइते

काठमाण्डौँ - रोल्पाको तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित सात जनाको मृत्यु भएको छ । 
माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको थियो । 

दुर्घटनामा पाँच जनाको घटनास्थलमै र दुईको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालावाङकी वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँका वर्ष ७७ का खडकबहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ती, अमृता घर्तीकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका वडा नं २ राङ्सी निवासी वर्ष ३३ की रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी भरत लामाले जानकारी दिए । 

यस्तै माडी गाउँपालिका वडा नं ३ दाबाङ निवासी ७० वर्षीय झुपलाल डाँगी र सोही ठाउँ निवासी एक महिलाको मृत्यु रेऊघा अस्पतालमा उपचारका क्रममा ज्यान गएको उनले बताए । ती महिलाको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । घर्तीगाउँ स्मृति अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारको लागि रेउघा जिल्ला अस्पतालमा १० जना बिरामीलाई रिफर गरिएको छ । रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित जीप सडकबाट करिब चार सय मिटर तल पुगेको स्थानीयले बताएका छन् ।