'पार्टी नेतृत्वले गरेको गलत निर्णयको भारी अब बोक्न सकिँदैन' : महामन्त्री थापा 

 काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वले गरेको गलत निर्णयको भारी अब बोक्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै थापाले पार्टीको आधारभूत मान्यतासग बाँझिने गरि नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न नसक्ने बताएका हुन् ।

थापाले भने,‘नागरिकता विधेयकसम्बन्धी विषय,आममाफीको विषय, सांसद् विकास कोषका सन्दर्भमा,प्रदेशमा मन्त्रालय फुटाउने विषय यी यस्ता कयौं विषय छन् । यी विषयहरू नेपाली कांग्रेसको पार्टी सभापतिले,मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय तपाईंहरुले भन्दा मैले अगाडि थाह पाएको हुँ । यो परिपार्टी गएको एक डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले यसलाई सहे । मैले मान्दै आए । किनभने सभापति हो, सभापति बहुमतमा हुनुहुन्छ । अब भने सहन्न ।’ उनले पार्टीको आधारभूत मान्यतासँग बाँझिने गरि गरिएका कुनै पनि निर्णयहरू लडेर रोक्ने बताए । थापाले भने,‘यो गर्ने क्रमलाई अब लडेर रोक्ने हो । जुधेर रोक्ने हो,संघर्ष गरेर रोक्ने हो ।’