आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं - आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लािग  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । 

यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा  योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई  पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । 

सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन । उनले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न  सकिन्छ भन्नेमा विश्वासका साथ सरकार यस क्षेत्रको विकासका लागि दृढता साथ अघि बढेको  बताइन ।