बारा-२ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय

काठमाडौँ - नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारामा जसपाको उम्मेदवारलाई सघाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

त्यस्तै बैठकले बारा, चितवन र तनहुँमा २०७९ को निर्वाचन भन्दा पहिले स्वतन्त्र उम्मेदवार भई पार्टीको अनुशासन उलंघन गरेका नेताहरुको हकमा पुरानै क्रियाशील सदस्यताको निरन्रता हुने गरि कारवाही फुकुवा गर्ने निर्णय गरेको छ भने २०७९ को निर्वाचनको हकमा भने उपचुनावमा खेल्ने भूमिकालाई हेरेर निर्णय गर्ने निर्णय भएको पाण्डेले बताए ।

बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पारित गरेको छ । त्यस्तै बैठकले राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ । अघिल्लो कार्यसम्पादन समिति बैठकमा पेश भएका कार्यालय सञ्चालन सम्बन्धी निर्देशीका र नियमावलीलाई सुझाव सहित पारित गर्ने निर्णय भएको पाण्डेले बताए ।