अहिलेका असन्तुष्टिलाई नेपाली विशेषताको समाजवादबाट समाधान गर्नुपर्छ : विप्लव

काठमाडौँ । समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेका असन्तुष्टिहरुलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताएका छन्।

मंगलवार काठमाडौँमा आयोजित समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उल्लेख गरे।

उनले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको जिकिर गरे। उनले समाजवादीहरु,कम्युनिष्टहरु, कतातिरबाट अघि बढ्ने,कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने ? जनतालाई कसरी सुरक्षित गर्ने ? भन्नेकुरा मुल कुरा बनाएर अघि बढाउन जरुरी रहेको बताए।

उनले समाजवादी मोर्चाले अस्थिरता ल्याउने नभइ स्थिरतातिर देशलाई अघि बढाउने दाबी गरे। उनले भइरहेका असन्तुष्टिहरु, समस्याहरुलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढंगले समाधान गर्न समाजवादी मोर्चाले भुमिका खेल्ने बताए ।

नेपालका कानूनी, प्रशासनिक, रोजगारी, उद्योग लगायतका क्षेत्रका समस्याहरुको पहिचान गरी समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ । नेता चन्दले आगामी दिनमा नयाँ शासन व्यवस्था, अर्थ व्यवस्थाको बहसबारे छलफल हुनुपर्ने बताए।